काठमाडौं । देशको राजधानी काठमाडौं उपत्यकामा मेडिकल व्यवसायी तथा अराजक गतिविधिका नाइके दुर्गा प्रसाईँ तथा पूर्वराजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शन हिंसात्मक मोडमा पुगेपछि नेपाल सरकार गृह मन्त्रालयले कडा प्रतिक्रिया जनाएको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीलाई “गैरकानूनी र घोर भर्त्सनायोग्य” भन्दै प्रदर्शन आयोजकहरूलाई नै जिम्मेवार ठहराएको छ।
तीनकुने क्षेत्रमा भएको प्रदर्शनले संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता को दुरुपयोग गर्दै अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक प्रतिष्ठान र यातायातका साधनमाथि आक्रमण गरेको उल्लेख गर्दै मन्त्रालयले सो सार्वजनिक सम्पतिमाथि भएको क्षेतिपूर्ती आयोजकलाई तिर्न निर्देशन दिएको छ । शान्तिपूर्ण भनि गरिएको प्रदर्शनका करोडौँको क्षति गरेपछि मन्त्रालयले अशान्ति फैलाई अराजक गतिविधिमा संलग्न आयोजक टिम र प्रदर्शनकारीले नै पीडितलाई सो क्षेतिपूर्ति तिर्नुपर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थाले सबै वर्ग, जाति, भाषा, लिङ्ग, क्षेत्र र धर्मका अधिकार सुरक्षित गरेको उल्लेख गर्दै शान्तिपूर्ण विरोधको अधिकारलाई अराजक गतिविधिमा परिणत नगर्न नागरिकलाई आग्रह गरिएको छ। मन्त्रालयले कानूनको उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरी विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
सरकारले राजवादीहरुले गरेको हिंसात्मक प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरी सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको चेतावनी दिएको छ । सरकारले लोकतान्त्रिक अधिकारको शान्तिपूर्ण प्रयोग गर्न आह्वान गरेपनि अराजक गतिविधिमा संलग्न हुनेहरुलाई उक्त चेतावनी दिदैँ आगामी दिनमा त्यस्ता गतिविधिमा संलग्न नहुन आम नागरिकलाई समेत अपिल गरेको छ । सरकारले हिंसा र अराजक गतिविधिहरूले राष्ट्रलाई दीर्घकालीन क्षति पुर्याउने भन्दै कानूनी दायरामा ल्याई कारबाही गर्ने स्पष्ट पारेको छ ।

राजावादीको ताण्डव: विमानस्थल नजिक आगजनी, जडीबुटी कार्यालयमा पनि आक्रमण
हिंसात्मक प्रदर्शनपछि सेना परिचालन: राजधानीमा कर्फ्यु, सुरक्षा व्यवस्था कडा




