देश

हिंसात्मक प्रदर्शनपछि सेना परिचालन: राजधानीमा कर्फ्यु, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सरकारले उपत्यकाको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेपछि नेपाली सेना सडकमा निस्किएको छ। आज (शुक्रबार) राजावादीहरूले तीनकुने क्षेत्रमा उदण्ड मच्चाएपछि सरकारले तीनकुने क्षेत्रमा १० बजेसम्मका लागि कर्फ्यु लगाएको छ । लगत्तै सेना सडकमा देखिएको हो । जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले तनावग्रस्त तीनकुने क्षेत्रमा सेना पठाइएको जानकारी दिए ।

तीनकुने क्षेत्रमा आज राजावादीले प्रदर्शन गरेका थिए । प्रदर्शन उग्र हुँदा तीनकुने क्षेत्रमा व्यक्तिका घर र कार्यालयहरूमा आगजानी र तोडफोड भएको छ । कर्फ्यु आदेश जारी भएसँगै जिल्ला सुरक्षा समितिको बैठकले सेना खटाउने निर्णय गरेको हो । काठमाडौँ प्रशासनले गौशालादेखि विमानस्थल, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर क्षेत्र, कोटेश्वरदेखि जडिबुटी पुलसम्म, बानेश्वरचोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

कर्फ्यु अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्मलाई आदेश जारी भएको प्रशासनले जनाएको छ । त्यस्तै प्रशासनले यस अवधिमा यी क्षेत्र आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन बैठक र घेराउ गर्न नपाउने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *