देश

ट्रेड युनियनमाथि सरकारको हस्तक्षेप, अन्तर्राष्ट्रिय महासंघको चिन्ता

काठमाडौं । अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) ले नेपालमा श्रमिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । नेपाल भ्रमणमा रहेका महासचिव स्टेफेन कटनले सरकारको पछिल्लो नीति र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनले ट्रेड युनियनहरूको स्वतन्त्र अस्तित्व कमजोर पार्ने वा एउटै युनियनमा सीमित गर्ने प्रयासप्रति आपत्ति जनाए । यस्तो प्रवृत्तिले मजदुरहरूको संगठन खोल्ने स्वतन्त्रता र लामो समयदेखिको योगदानमाथि असर पर्ने उनको भनाइ छ ।

सरकारलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दै कटनले नेपालजस्तो उदीयमान अर्थतन्त्र भएको मुलुकमा संस्थागत विश्वास कायम रहनुपर्ने बताए । अदालत, संसद र प्रशासनप्रति देखिएको अविश्वासले समग्र प्रणालीमै प्रश्न उठाउने अवस्था सिर्जना गरेको उनले उल्लेख गरे ।

करिब एक करोड ७० लाख यातायात मजदुरको प्रतिनिधित्व गर्ने संस्थाका प्रमुख कटनले प्रस्तावित कार्यविधिले ट्रेड युनियनहरूको स्वतन्त्रता संकुचित हुने चेतावनी दिए । उनले अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ र अन्य श्रमिक संगठनहरूको ऐक्यबद्धता रहेको उल्लेख गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र युनियन आवश्यक रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *