काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा २० वाणिज्य बैंकले करिब ४९ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाफा करिब १९ प्रतिशतले वृद्धि भएको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकहरूको नाफा वृद्धिमा रेमिट्यान्स, डिजिटल कारोबार, प्रतीतपत्र ग्यारेन्टी, ट्रेजरी बिल र सेवा शुल्कजस्ता गैरब्याज आयको योगदान बढेको देखिन्छ । साथै ब्याजदरमा आएको कमी, ऋण असुलीमा सुधार र खराब कर्जा (एनपीए) घट्नुले पनि नाफा वृद्धि भएको बैंकर्सहरूको भनाइ छ ।
नेपाल बैंकर्स संघका अनुसार कर्जा विस्तार अपेक्षित रूपमा नभए पनि असुली बढ्दा वित्तीय अवस्था सुधारिएको छ । साथै, बजारमा तरलता बढ्नु र चुनावको समयमा आर्थिक गतिविधि केही चलायमान हुनुले पनि बैंकहरूको आम्दानीमा सकारात्मक प्रभाव पारेको बताइएको छ ।
नाफा रकमका आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ । त्यसपछि ग्लोबल आईएमई बैंक, कुमारी बैंक, एभरेस्ट बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक क्रमशः शीर्ष स्थानमा छन् ।
यद्यपि यस अवधिमा प्रभु, कृषि विकास बैंक, एनआईसी एसिया, ग्लोबल आईएमई, एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्डसहित ७ बैंकको नाफा घटेको पनि देखिएको छ ।
समग्रमा बैंकिङ क्षेत्रको नाफा बढे पनि खराब कर्जा केही बढेर ५.२५ प्रतिशत पुगेको छ । तर राष्ट्र बैंकले ८ प्रतिशतसम्मको सीमा निर्धारण गरेकाले तत्काल कारबाहीको अवस्था नरहेको जनाइएको छ ।
आर्थिक गतिविधि, बिमा, रेमिट्यान्स र डिजिटल कारोबारको विस्तारले वित्तीय क्षेत्रको योगदान आगामी वर्ष अझ बढ्ने अनुमान गरिएको छ ।




