देश

डोटीमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी। डोटीमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक तथा पौराणिक मान्यताअनुसार बालबालिकालाई विषालु दूध खुवाएर मार्न खोज्ने राक्षसी पुतनालाई भगवान् श्रीकृष्णले वध गरेको खुसीयालीमा यो पर्व मनाउने चलन रहेको छ ।

स्थानीय किंवदन्तीअनुसार श्रीकृष्णले पुतनाको वध गरेपछि सत्यको विजयको स्मरणस्वरूप ‘बुढी पोल्ने’ पर्व मनाउन थालिएको हो । प्रत्येक वर्ष असोज १ गते मनाइने यो पर्व डोटीको मौलिक संस्कृति र परम्परासँग जोडिएको छ । सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा पनि विभिन्न स्थानीय परम्परासहित यो पर्व मनाउने गरिन्छ ।

भाद्र सङ्क्रान्तिदेखि सङ्कलन गरी राखिएका काठ, हाँगा, झ्याङलगायत सामग्रीबाट ‘बुढी’को प्रतीक तयार गरिन्छ । उक्त प्रतीकलाई असोज १ गते साँझ सामूहिक रूपमा दोबाटोमा लगेर जलाउने तथा त्यसपछि काँक्रो खाँदै चारै दिशातर्फ ‘लुतो’ फाल्ने प्रचलन रहेको छ ।

स्थानीय जनविश्वासमा ‘बुढी’लाई पुतनाको प्रतीकका रूपमा लिइन्छ । पुतनाको अन्त्यको सम्झनामा यो पर्व मनाउने गरिएको मान्यता छ । पर्व मनाउने विधि, स्थानीय कथा र विश्वास भने ठाउँअनुसार केही फरक रहेको पाइन्छ । यस पर्वले पशुचौपायामा रोगव्याधि नलाग्ने जनविश्वाससमेत रहेको स्थानीय बताउँछन् ।

ठूलाकेदार धामका मुख्य पुजारी सिद्धराज बिराडीले ‘बुढी पोल्ने’ परम्परा भगवान् श्रीकृष्णसँग सम्बन्धित पुतना वधको कथासँग जोडिएको बताए ।

उनका अनुसार पुतनाको स्वरूप तयार गरी बाबियोलगायत सामग्रीबाट सिँगारिएको ‘बुढी’लाई बिहान गोठबाट निकालेर दिनभर घाममा सुकाइन्छ । साँझ उक्त प्रतीकलाई दोबाटोमा लगेर जलाउने परम्परा रहेको उनले बताए ।

आधुनिक जीवनशैली र बढ्दो बसाइँसराइका कारण परम्परागत संस्कृतिमा परिवर्तन आइरहे पनि ‘बुढी पोल्ने’ पर्वले डोटीका समुदायलाई आफ्नो मौलिक परम्परा र सांस्कृतिक पहिचानसँग जोड्दै आएको छ ।

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणका लागि नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *