काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित तथा विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्य सहभागी छन्।
छलफलमा बाढीपछि प्रभावित क्षेत्रमा उत्पन्न अवस्था, तत्कालीन आवश्यकता, सरकारले चाल्नुपर्ने आगामी कदम तथा पुनरुत्थान र पुनर्निर्माणका विषयमा समीक्षा भइरहेको छ। स्थानीय तहका जनप्रतिनिधिबाट प्रभावित क्षेत्रको वास्तविक अवस्था, नागरिकका समस्या र आवश्यक सहयोगबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको छ।
छलफलमा नुवाकोटबाट प्रतिनिधिसभा सदस्य विक्रम तिमिल्सिना र अच्युतम लामिछाने तथा विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी छन्।
त्यस्तै, रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ छलफलमा उपस्थित छन्। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइनमार्फत सहभागी भएका छन्।
धादिङबाट गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ सहभागी छन्।
तनहुँका देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ पनि छलफलमा सहभागी छन्।
भोटेकोशी बाढीपछि प्रभावित जिल्लामा भएको क्षति, उद्धार तथा राहतको अवस्था र अबको पुनःस्थापनाका चुनौतीबारे स्थानीय तहका प्रतिनिधिबाट प्राप्त सुझावका आधारमा सरकारले आगामी कार्ययोजना तय गर्ने अपेक्षा गरिएको छ।




