काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा निर्वतमान सभापति शेरबहादुर देउवालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने बताएका छन्।
थापाले महाधिवेशन सुरु हुने बिहानसम्म पनि देउवालाई कार्यक्रममा उपस्थित गराउने प्रयास जारी राख्ने बताएका हुन्। पार्टीको महाधिवेशनजस्तो महत्वपूर्ण अवसरमा देउवाको सहभागिताका लागि आफूले निरन्तर संवाद र पहल गरिरहने उनको भनाइ छ।
महाधिवेशनको उद्घाटन समारोहमा निर्वतमान सभापति देउवालाई सम्मानपूर्वक सहभागी गराउने विषयमा कांग्रेसभित्र छलफल भइरहेको छ। देउवालाई औपचारिक रूपमा निम्तो दिने तथा उनको सहभागिताका लागि आवश्यक पहल गर्ने विषयमा पार्टीका विभिन्न तहका नेताहरूले समेत धारणा राख्दै आएका छन्।
सभापति थापाले महाधिवेशनलाई पार्टीको आन्तरिक एकता र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अवसरका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। त्यसका लागि विगतका नेतृत्व र वर्तमान नेतृत्वबीच संवाद तथा सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
महाधिवेशन नजिकिँदै गर्दा देउवाको सहभागितालाई लिएर कांग्रेसभित्र चासो बढेको छ। थापाले भने उद्घाटन समारोह सुरु हुँदासम्म देउवालाई सहभागी गराउने प्रयासमा कुनै कमी नहुने बताएका छन्।
साथै सभापति थापाले पार्टीभित्र संस्थापन र इतरसमुहका बारेमा केही नकरात्मक टिप्पणी समेत नगर्न आग्रह गरेका छन् । उनले भन,े ‘कांग्रेस पार्टी अन्य पार्टी भन्दा फरक पार्टी हो,दाइभाईको पार्टी हो,कहिलेकाँही विभिन्न छलफल र तर्कहरु हुन्छन् ,त्यसलाई हामी सबैले सकरात्मक रुपमा लिनुपर्छ ,त्यो हो नेपाली कांग्रेसको संस्कार ।’’




