देश

सरकारको विकास दृष्टिकोण गलत दिशामा गएको छ, बाटो सच्याउन सीके राउतको चेतावनी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा। सीके राउतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको नीति तथा कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै तत्काल मार्ग सच्याउन चेतावनी दिएका छन्। सरकार गठन भएको सय दिन पनि नपुग्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राउतले वर्तमान विकास अवधारणाले जनताको वास्तविक आवश्यकतालाई सम्बोधन गर्न नसकेको आरोप लगाएका हुन्। उनका अनुसार सडक विस्तार, फुटपाथ सौन्दर्यीकरण जस्ता संरचनात्मक काम मात्र विकास होइन, जनताको आवास, सुरक्षा र आधारभूत सेवामा पहुँच सुनिश्चित हुनु वास्तविक विकास हो।

उनले राजधानीमा गरिब, मजदुर तथा सीमान्तकृत समुदायलाई हटाएर गरिने पूर्वाधार निर्माणलाई “नवधनाढ्य वर्गको विलासिता” सँग तुलना गर्दै आलोचना गरेका छन्। राउतले राज्यलाई भूमि मात्र नभई जनता नै भएको उल्लेख गर्दै सरकार जनताको सेवकका रूपमा रहेको स्मरण गराएका छन्। उनका अनुसार राज्य संयन्त्रले आफ्नो सीमा र जिम्मेवारी बिर्सिएमा त्यसले सत्ता दुरुपयोग र असन्तुलन निम्त्याउँछ।

उनले शक्ति, सुरक्षा संयन्त्र वा सामाजिक प्रभावका आधारमा आफूलाई जनताभन्दा माथि ठान्ने प्रवृत्तिलाई खतरनाक भन्दै इतिहासले यस्ता सोचलाई पटक–पटक अस्वीकार गरिसकेको टिप्पणी गरेका छन्। उनले निर्णय प्रक्रियामा मानव संवेदनशीलता अपनाउन “गोल्डेन रुल” प्रयोग गर्न सुझाव दिँदै कुनै पनि नीतिगत निर्णय गर्दा पीडितको स्थानमा आफ्ना परिवारका बालबालिकालाई राखेर सोच्न आग्रह गरेका छन्।

राउतका अनुसार राज्यले नागरिकलाई संरक्षण गर्नुपर्नेमा उल्टै विस्थापन गर्ने प्रवृत्ति देखिनु चिन्ताजनक विषय हो। उनले यस्तो अभ्यासले विधिको शासन कमजोर बनाउने र दीर्घकालीन रूपमा सामाजिक असन्तुष्टि बढाउने चेतावनीसमेत दिएका छन्।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति गरिएको यस टिप्पणीलाई राजनीतिक वृत्तमा नीतिगत बहसको नयाँ संकेतका रूपमा हेरिएको छ भने जनमत पार्टी अध्यक्ष सीके राउत ले विकासको परिभाषा पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *