काठमाडौं । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता नवीकरण र अनुशासनसम्बन्धी कारबाही प्रक्रियालाई लिएर देउवा समूहले गम्भीर आपत्ति जनाएको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलाले सभापति गगन थापामाथि बदनियत राखेर क्रियाशील सदस्यता पुनः नवीकरण गर्ने प्रयास भइरहेको निष्कर्ष निकालेको छ ।
नेता पूर्णबहादुर खड्काले नेतृत्व गरेको भेलाले पार्टीको विधानअनुसार सदस्यता नवीकरण र वितरणको काम पहिले नै लगभग सम्पन्न भइसकेको बताउँदै पुनः “अद्यावधिक” नाममा प्रक्रिया अघि बढाउनु गलत भएको निष्कर्ष निकालेको हो ।
विज्ञप्तिमा स्थापनाकालदेखि पार्टी र लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका कार्यकर्ताहरूको सदस्यता खारेज गर्ने वा पुनः नवीकरण गर्ने प्रयासलाई अस्वीकार्य भनिएको छ । देउवा समूहले यस्तो कार्यले पार्टी इतिहास र आन्दोलनको अवमूल्यन हुने दाबी गर्दै तत्काल रोक्न आग्रह गरेको छ ।
यसैबीच, सोही भेलाले अनुशासनको नाममा नेताहरूमाथि स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अभ्यासले पार्टीमा निरङ्कुश प्रवृत्ति देखिएको आरोप लगाएको छ । यस्तो कार्य तत्काल रोक्न माग गरिएको छ ।
बैठकले हालको राजनीतिक अवस्थाको समीक्षा गर्दै विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको निष्कर्षसमेत निकालेको छ । साथै, सर्वोच्च अदालतको फैसला स्वीकार गरे पनि सभापति गगन थापाले अघि बढाएको महाधिवेशन प्रक्रियालाई मान्यता नदिने निष्कर्षमा देउवा समूह पुगेको छ ।




