काठमाडौँ।नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पु-याउने नेपाल राष्ट्र बैंकको प्रतिबद्धता रहेको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकको आज ७१औँ वार्षिकोत्सवमा उहाँले सरल, नियमन, प्रभावकारी सुपरिवेक्षण, नीतिगत सुधार तथा प्रविधिमैत्री वित्तीय प्रणालीमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान पु-याउने बंैककोे प्रयास रहेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय पश्चिम एसियाको युद्धले समग्र अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावको नियमित अध्ययन गरी सजग रहन आवश्यक छ । गर्भनर पौडेलले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार विश्व अर्थतन्त्रको अवस्थाबारे समीक्षा गर्नुभएको थियो ।
सो प्रतिवेदनमा अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को २०२६ अप्रिलका अद्यावधिक वल्र्ड इकोनोमिक आउटलुक(डब्लुइओ) का अनुसार विश्व अर्थतन्त्र बढ्दो अनिश्चितता र जोखिममा रहेको जनाइएको छ । पश्चिम एसियामा जारी भूराजनीतिक तनाव र यसबाट सिर्जित आपूर्ति अवरोध र इन्धनको मूल्य उतारचढावले विश्व अर्थतन्त्र प्रभावित भएको उहाँले बताउनुभयो ।
सोही कार्यक्रममा पूर्वगर्भनर डा युवराज खतिवडाले देशको अर्थतन्त्रलाई बलियो बनाउने आधार आन्तरिक उत्पादनशील नै रहेको बताउनुभएको छ । उहाँले बाहिरी स्रोतले केही आर्थिक स्थितिमा सुधार देखिए जस्तो लागे पनि वास्तवमा त्यो दीर्घकालीन नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको अर्थतन्त्र मोटाएको छैन, सुन्निएको हो ।”
कार्यक्रममा बंैकका सर्वोत्कृष्ट एक र अन्य उत्कृष्ट सात कर्मचारीलाई पुरस्कृत गरिएको थियो भने २० वर्ष सेवा अवधि पूरा गरेका १७ कर्मचारीलाई दीर्घकालीन सेवा सम्मान प्रदान गरिएको थियो ।




