काठमाडौँ । नेपाल किसान महासंघले रासायनिक मलको अभाव र बढ्दो महँगीका कारण किसानहरू गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
मंगलवार सानेपामा बसेको केन्द्रीय समिति बैठकले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत एकैसाथ ज्ञापनपत्र बुझाउने निर्णय गरेको महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार खेतीपातीको मुख्य समयमा समेत मलको सहज आपूर्ति नहुँदा उत्पादनमा प्रत्यक्ष असर परेको छ । किसानको समस्या समाधानतर्फ सरकार गम्भीर हुनुपर्ने माग गर्दै देशव्यापी रूपमा दबाब सिर्जना गर्ने तयारी गरिएको उनले बताए ।
महासंघले ७७ वटै जिल्ला अध्यक्ष, सातै प्रदेश अध्यक्ष र केन्द्रीय समिति एकैदिन र एकै समयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने योजना बनाएको छ ।
अध्यक्ष तिमिल्सिनाले भने, “मल अभाव र महँगीका कारण किसान मारमा परेका छन्। यी समस्यामा सरकारको ध्यानाकर्षण गराउन हामी देशभर एकैदिन ज्ञापनपत्र बुझाउने निर्णयमा पुगेका छौँ।”
उनका अनुसार उत्पादन लागत लगातार बढ्दै गए पनि बजार मूल्य सुनिश्चित नहुँदा किसान थप आर्थिक दबाबमा परिरहेका छन् ।




