
काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै रास्वपाका सभापति रवि लामिछानेको सांसद निलम्बन गर्न प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र ठाएपछि रास्वपाका नेताहरुले सभामुख घिमिरेलाई भेटेका छन् ।
सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर भएको हुँदा उनी स्वत निलम्बनमा पर्ने एकाथरीको मत छ भने अभियोग पुष्टि नहुँदासम्म निलम्बन गर्न नहुने अर्काथरीको मत रहेको छ । आइतबार नै कास्की प्रहरीले रविविरुद्ध मुद्दा दायर भएको पत्र संसद् सचिवालय र सभामुख देवराज घिमिरेलाई पठाएको थियो । सो पत्रलगत्तै सभामुखले परामर्श थालेका छन् । सभामुख घिमिरे बिहानैदेखि उक्त विषयलाई लिएर छलफल गरिरहेका छन् ।
सभामुख घिमिरे छलफल गरिरहँदा रास्वपाका सांसद सोविता गौतम र गणेश पराजुली घिमिरेलाई भेट्न पुगेका छन् । सभामुख घिमेरे छलफलमा रहँदै गौतम र पराजुलीउनको कार्यकक्षमा पुगेका हुन् । उनीहरुले सहकारी ठगी प्रकरणमा मुछिएका सभापति लामिछानेको सांसद पद जोगाउन दबाब दिएका छन् । सभामुख घिमिरेले आफूहरु छलफलमा रहेको भन्दै संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय गर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की अपराध अनुसन्धान तथा कारबाही शाखाले आइतबारले सभामुख घिमिरेलाई पत्र पठाएर सहकारी ठगीमा आरोपित रास्वपा सभापतिको मुद्धा अदालतमा दर्ता भइसकेकाले उनको संसद पद निलम्बन गर्न आग्रह गरिसकेको छ ।