राजनीति

महामन्त्री धवलशमशेर राणालाई संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाएपछि अध्यक्ष लिङदेनको चौतर्फी आलोचना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको जिम्मेवारी हेरफेर गर्ने क्रममा पार्टीका महामन्त्री धवलशमशेर राणालाई संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाएपछि अध्यक्ष लिङदेनको चौतर्फी आलोचना भएको छ । धवलशमशेर राणालाई संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाएपछि राप्रपा इतर समुहले राप्रपाको चौतर्फी आलोचनामा उर्तिएका हुन् ।

आगामी महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले ‘रणनीतिक निर्णय’ मार्फत महामन्त्री धवलशमशेर राणालाई संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाएको विषयलाई लिएर इतर समूह अध्यक्षबाट ‘अमानवीय’ निर्णय भएको आरोपसमेत लगाएका छन् ।

इतर पक्षले आगामी महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई चुनौती दिन राणालाई अघि सार्ने तयारी गरेको थाहा पाएपछि अध्यक्ष लिङदेनले आफ्नो पक्षमा माहोल बन्ने किसिमको विभाग प्रमुख हेरफेर गरेपछि राप्रपामा विवाद चुलिएको हो ।
लिङ्देन रानालाई संगठन विभाग प्रमुखबाट हटाएर संगठन विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिएका छन् ।

लिङ्देनले पार्टीभित्र आवश्यक परामर्श नै नगरी राणासहितका केही नेताको जिम्मेवारी हेरफेर गरेको भन्दै राप्रपा नेताहरुले अध्यक्ष लिङदेनको निर्णयप्रति प्रश्न उठाएका छन् । राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी अहिले परिवारसँग दसैँ मनाउन अमेरिका पुगेका छन् । यस्तै उपाध्यक्ष विक्रम पाण्डे डेंगु संक्रमण भएर निवासमै आराम गरिरहेका छन् भने संगठन विभागबाट हटाइएका राणा पनि उपचारका सिलसिलामा भारतको मुम्बईमा छन् ।

दाँतको क्यान्सरको उपचारका लागि राणा भारत गएका बेला यसखालको निर्णय गरेर अध्यक्षले अमानवीय निर्णय गरेको पूर्वअध्यक्ष लोहनीले सार्वजनिक रूपमै टिप्पणी गरे । उनले सहकर्मीलाई तनाव दिने कार्यप्रति दुःख व्यक्त गर्दै लिङ्देनको निर्णयप्रति असहमति रहेको स्पष्ट पारेका छन् ।

हाल अमेरिकामा रहेका लोहनीले फेसबुकमार्फत भनेका छन्, ‘राप्रपाका सांसद तथा महामन्त्री धवलशमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई संगठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काममात्र हो । यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु ।’

बिहीबार अध्यक्ष लिङ्देनले तामाङलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिनुअघि उनी राजनीतिक विभागको प्रमुख रहेका थिए । अहिले राजनीतिक विभाग प्रमुखको जिम्मेवारी अर्का उपाध्यक्ष रवीन्द्र मिश्रलाई दिइएको छ । यसैगरी स्थानीय तह परिचालन समितिमा ध्रुवबहादुर प्रधानलाई जिम्मेवारी दिइएको छ । यसअघि सो विभागको प्रमुखमा उपाध्यक्ष रोशन कार्की थिइन् ।

अध्यक्ष लिङदेनले पार्टीका प्रतिनिधिहरुसँग छलफल नगरी गरेको निर्णय अमान्य हुने समेत राप्रपाका नेताहरुले बताएका छन् । पार्टीभित्र छलफल नै नगरी एकात्मक शासन चलाएको राप्रपा नेताहरुको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *