देश

सत्ता सहकार्यदेखि प्रदेश सरकारसम्म, गुन्डुमा ओली-कांग्रेस नेताबीच दुई घण्टा छलफल

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा मंगलबार बेलुका नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुन्डु पुगेका छन् । कर्णाली प्रदेशस्तरीय कार्यक्रम सकेर काठमाडौं फर्किएका कांग्रेस नेताद्वयले ओलीसँग समसामयिक राजनीति, सत्ता सहकार्य र प्रदेश सरकारको समीकरणबारे झन्डै दुई घण्टा छलफल गरेका हुन् ।

भेटवार्तामा एमाले–कांग्रेसबीच यसअघि भएको सहमति कार्यान्वयन, पावर सेयरिङ र प्रदेश सरकार पुनर्संरचनाका विषयमा केन्द्रित संवाद भएको बताइएको छ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार कुनै पनि प्रदेशमा एकल बहुमतको अवस्था नभएकाले बहुमतका आधारमा सरकार सञ्चालनबारे दलहरूबीच निरन्तर छलफल भइरहेको छ ।

उनले एमाले मात्र नभई माओवादी केन्द्र, राप्रपालगायत दलहरूको भूमिकालाई समेत ध्यानमा राखेर राजनीतिक परामर्श भइरहेको बताए । चालिसेका अनुसार भेटलाई नियमित राजनीतिक संवादकै निरन्तरताका रूपमा लिइएको छ । “दलहरूबीच यस्तो प्रकारको संवाद भइरहन्छ,” उनले भने, “पुराना सहमति र वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्न भेटघाट गरिएको हो ।”

स्रोतका अनुसार भेटमा वर्तमान सरकारको कार्यशैली, आगामी रणनीति र प्रदेश सरकारको नेतृत्व परिवर्तनका सम्भावित मोडालिटीबारे पनि कुराकानी भएको थियो । एमाले र कांग्रेसबीच मधेस प्रदेशबाहेक अन्य प्रदेशमा सरकार अदलबदल गर्ने समझदारी कार्यान्वयन गर्ने विषयमा पछिल्ला दिनमा छलफल तीव्र बनेको छ ।

यसअघि पनि एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा कांग्रेसका नेता विश्वप्रकाश शर्मा र उदयशमशेर राणाबीच यस्तै प्रकारका वार्ता भइसकेका छन् । पछिल्ला भेटघाटलाई सत्ता समीकरण दीर्घकालीन बनाउने प्रयासका रूपमा समेत हेरिएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *