काठमाडौं । नेकपाका सांसद वर्षमान पुन ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यथास्थितिमै सीमित रहेको टिप्पणी गरेका छन्। उनले उक्त कार्यक्रमले जनताको आकांक्षा सम्बोधन गर्न नसक्ने दाबी पनि गरेका छन्।
बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारले स्पष्ट प्राथमिकता र दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्न नसकेको बताएका हुन्।
सांसद पुनले नीति तथा कार्यक्रममाथि पर्याप्त समय दिएर गम्भीर छलफल हुनुपर्ने परम्परा कमजोर बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरे। विगतमा धेरै दिनसम्म हुने छलफल र त्यसको आधारमा बजेट निर्माण हुने अभ्यास यसपटक संकुचित गरिएको उनको भनाइ थियो।
उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर प्रतिपक्षले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिनुपर्नेमा समेत जोड दिएका छन्। दुई तिहाइ नजिकको समर्थन प्राप्त सरकारले जनताको अपेक्षाअनुसार कार्यक्रम ल्याउन नसकेको उनको आरोप थियो।
पुनले सत्तारुढ दलले चुनावका बेला सार्वजनिक गरेका प्रतिबद्धता र वर्तमान नीति तथा कार्यक्रमबीच सामञ्जस्य नदेखिएको बताएका छन्। “सरकारको प्राथमिकता के हो भन्ने विषय स्पष्ट छैन,” उनले संसद्मा भने।
उनले वर्तमान नीति तथा कार्यक्रमले मुलुकको राजनीतिक परिवर्तनलाई आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्न नसकेको तर्क गरे। लामो राजनीतिक संघर्षपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनजीविकासँग जोड्ने स्पष्ट योजना आवश्यक रहेको उनको भनाइ थियो।
सांसद पुनले सरकारलाई स्पष्ट दृष्टिकोण र कार्यान्वयनयोग्य कार्यक्रमसहित अघि बढ्न सुझावसमेत दिएका छन्।




