काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र लामो समयदेखि चल्दै आएको भागबन्डा र गुटबन्दीको संस्कृतिलाई अन्त्य गरेर पूर्ण एकताको दिशामा अघि बढ्नुपर्ने बताएका छन् । पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले ६०र४० को आन्तरिक शक्ति बाँडफाँटको अभ्यास अब त्यागेर “१०० प्रतिशतको कांग्रेस” निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।
उपसभापति शर्माले पार्टीभित्र असहमति राख्ने समूहलाई पनि समेट्ने प्रयास भइरहेको दाबी गरे । उनका अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत पार्टीले जिम्मेवारी दिएर समावेशी अभ्यास देखाएको छ । उनले पछिल्ला निर्णयहरूलाई उदाहरण दिँदै महिला संघको नेतृत्व, संसदीय दलको नेतृत्व चयन तथा केन्द्रीय समितिमा १९ जना सदस्य मनोनयनजस्ता निर्णयले पार्टी एकताको सन्देश दिएको बताए ।
शर्माले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत महत्वपूर्ण जिम्मेवारी दिइनु उनीहरूको क्षमता र योगदानको सम्मान भएको बताए । उनका अनुसार पार्टीले कसैलाई विभेद नगरी सबै पक्षलाई समेट्ने नीति लिएको छ ।
उनले पार्टीभित्र निर्णय प्रक्रियामा देखिने दोहोरो मापदण्डप्रति भने असन्तुष्टि जनाए । कसैलाई कारबाही गर्दा स्पष्टीकरण आवश्यक नपर्ने तर जिम्मेवारी दिँदा अनावश्यक प्रक्रियामा जानुपर्ने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो । उपसभापति शर्माले अन्त्यमा पार्टीभित्रको पुरानो भागबन्डा संस्कृतिलाई परित्याग गर्न सबैलाई आग्रह गरे । उनका शब्दमा, “अब ६०र४० को कुरा छोडेर सबै मिलेर १०० प्रतिशतको कांग्रेस बनाउनुपर्छ, त्यही बाटो नै पार्टीको भविष्य हो ।”




