देश

नेता बस्नेतको चेतावनी– नेतृत्व नसुध्रिए काँग्रेसमा ‘फरक बाटो’

काठमाडौँ । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टी नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेतृत्व नसुध्रिए फरक कदम चाल्ने चेतावनी दिएका छन् ।

बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र अविश्वासको वातावरण बढ्दै गएको भन्दै त्यसका लागि नेतृत्व तह नै जिम्मेवार रहेको बताए ।

बस्नेतले सभापति गगन थापाको नाम उल्लेख गर्दै पार्टीलाई विधि–विधानविपरीत कब्जा गर्ने प्रयास भइरहेको आरोप लगाए । उनले अहिले भइरहेको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया तत्काल खारेज गर्नुपर्ने माग समेत गरे ।

उनले समितिको निर्णयका आधारमा मात्रै अधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्दै १५औँ महाधिवेशनका लागि घोषणा गरिएका फरक–फरक मिति रद्द गरेर सहमतिमा नयाँ मिति तय गर्नुपर्ने बताए ।

बस्नेतले शेरबहादुर देउवा, डा. शेखर कोइराला लगायत सबै पक्षलाई समेटेर साझा क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव पनि अघि सारे ।

उनले आफ्नो समूहलाई ७७ वटै जिल्ला र भ्रातृ संस्थामा सशक्त रूपमा परिचालन गर्ने घोषणा गर्दै नेतृत्वले सुधार नगरे नयाँ नेतृत्व अघि आउने चेतावनी दिए ।

‘गलत तरिकाले पार्टी कब्जा गर्ने प्रयास भइरहेको छ । साथीहरूको सहमतिबिना म कहिल्यै झुक्ने छैन । पार्टी जोगाउन र प्रजातन्त्रको रक्षा गर्न आवश्यक परे फरक बाटो पनि तय गर्न सकिन्छ,’ बस्नेतले भने ।

वर्तमान नेतृत्वको आलोचना गर्दै उनले पटक–पटक निर्वाचन हार्ने व्यक्तिहरूको नेतृत्वका कारण पार्टी कमजोर बनेको टिप्पणी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *