काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देही ले सञ्चालन गरेको विशेष चेकजाँच अभियानमा सार्वजनिक सवारी चलाइरहेका १७ जना चालक लागूऔषध सेवन गरेको अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार सिद्धार्थ राजमार्गसहित विभिन्न सडकखण्डमा आकस्मिक परीक्षण अभियान सञ्चालन गरिएको थियो । अभियानमा लागूऔषध नियन्त्रण ब्युरो, जिल्ला ट्राफिक प्रहरी तथा प्राविधिक स्वास्थ्यकर्मीको संयुक्त टोली सहभागी थियो ।
चेकजाँचका क्रममा एक सय जना चालकको पिसाब परीक्षण गरिएकोमा १७ प्रतिशत चालकमा लागूऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार लागूऔषध सेवन गरेर सवारी चलाउने चालकहरूलाई नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीले लागूऔषधको प्रभावमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च हुने भएकाले यात्रु सुरक्षालाई ध्यानमा राख्दै यस्तो निगरानी अभियान तीव्र बनाइएको जनाएको छ ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।




