काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईसँग स्पष्टीकरण माग गरेका छन्, जसलाई उनको पदबाट हटाउने तयारीका रूपमा हेरिएको छ ।
सभामुखले सचिव राईलाई दुई प्रमुख विषयमा स्पष्टीकरण सोधेका हुन् । पहिलो, प्रतिनिधिसभा अन्तर्गतका संसदीय विषयगत समितिहरूलाई सक्रिय बनाउन आवश्यक पहल किन नगरेको भन्ने प्रश्न छ । दोस्रो, सांसदहरूलाई बोल्ने समय निर्धारणमा पक्षपातपूर्ण प्रस्ताव किन गरिएको भन्ने आरोपबारे स्पष्ट पार्न भनिएको छ ।
२१ फागुनमा निर्वाचित प्रतिनिधिसभाले २७ चैतमै विषयगत समितिहरू गठन गरेको थियो भने वैशाख ४ गते सभापतिहरू चयन भएका थिए । तर समितिहरूले अपेक्षित रूपमा काम अघि बढाउन नसकेको भन्दै सभामुखले सचिवको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका हुन् ।
सचिव राईले सभामुखसमक्ष स्पष्टीकरण बुझाइसकेका छन् । उनी अघिल्ला सभामुख देवराज घिमिरेको सिफारिसमा २०८१ पुस १६ गते नियुक्त भएका थिए ।
संविधानको व्यवस्था अनुसार प्रतिनिधिसभाका सचिवलाई सभामुखको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने र आवश्यक परे हटाउने अधिकार पनि राष्ट्रपतिमै निहित हुन्छ । संघीय संसदका पदाधिकारीसम्बन्धी ऐन २०७५ अनुसार कार्यक्षमताको अभाव, खराब आचरण वा पदीय जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह नगरेको ठहरिएमा सचिवलाई पदबाट हटाउन सकिने प्रावधान छ । तर त्यसअघि सम्बन्धित व्यक्तिलाई सफाइ पेश गर्ने अवसर दिनु अनिवार्य हुन्छ ।




