काठमाडौं । दस महिनापछि आजदेखि सिनेमा हल खुल्ने भएका छन् । तर, सरकारले अहिलेसम्म सिनेमा हल खुला गर्न अनुमति दिएको भने छैन । लामो समयसम्म हल बन्द हुँदा व्यवसाय चौपट मात्र होइन, ऋण बढेर तिर्न नसक्ने अवस्था आएको भन्दै चलचित्र संघले एकपक्षीय रूपमा सिनेमा हल खुला गर्न थालेका हुन् ।
हल खुल्न लागे पनि दर्शक आउने नआउने भने शंका नै छ । कोरोना भाइरस संक्रमण फैलिने डर भएकाले सरकारले सिनेमा हल खुला नगरेको जनाएको छ । अरु सबै क्षेत्र बन्द हुँदा पनि हल भने खुला भएका छैनन् ।
आज नयाँ नेपाली चलचित्र भने दर्शकले हेर्न पाउने छैनन् । यसअघि नै प्रदर्शनमा आएका चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ रिलिज भएका हुन् ।
‘आमा’ दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र हो भने ‘सेन्टी भाइरस’ रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र हो ।
केही दिन अगाडि चलचित्र कलाकार संघको भवन शिलान्यास गर्ने क्रममा सञ्चारमन्त्री पार्वत गुरुङले कोरोना संक्रमणको जोखिम कायमै नै रहेको भन्दै तत्काल हल खोल्न नसकिने बताएका थिए ।
सिनेमा हल नखोल्दासम्म चलचित्र क्षेत्र चलायमान नहुने भन्दै हल खोल्न बाध्य भएको चलचित्र संघका अध्यक्ष मधुसूधन प्रधानको भनाइ छ ।




