काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट निर्माणमा विगतदेखि अस्वाभाविक रूपमा ठूलो अंक राख्ने प्रवृत्ति रहेको भन्दै आगामी दिनमा त्यसलाई सच्याइने बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै उनले सरकारले हाल साढे १९ खर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याए पनि वास्तविक खर्च क्षमता भने करिब १६ खर्ब रुपैयाँको हाराहारीमा सीमित रहेको बताए ।
उनका अनुसार अवास्तविक लक्ष्य राख्ने अभ्यासकै कारण बजेट कार्यान्वयनमा समस्या देखिएको हो । विशेषगरी पूँजीगत खर्च अत्यन्तै न्यून रहेको उल्लेख गर्दै उनले वर्षेनी करिब २ खर्ब रुपैयाँ हाराहारी मात्र पूँजीगत खर्च हुने अवस्थाले विकासका लक्ष्य हासिल गर्न नसकिने बताए ।
अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको लगानी अपरिहार्य रहेको धारणा पनि राखे ।
उनले चालु आर्थिक वर्षका लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ निर्धारण गरिएको जानकारी दिँदै स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको स्वीकार गरे । उनका अनुसार राजस्वबाट करिब १३ खर्ब रुपैयाँ मात्र जुट्ने अवस्था रहेकाले बाँकी करिब ७ खर्ब रुपैयाँको स्रोत व्यवस्थापन नै सरकारका लागि मुख्य चुनौती बनेको छ ।
चालु आवको बजेट खर्च बढाउन सरकारले ‘इमर्जेन्सी मोड’मा काम गरिरहेको पनि उनले बताए । असार मसान्तसम्म पूँजीगत खर्च अहिलेसम्मकै उच्च हुने अनुमान समेत उनले गरे ।




