काठमाडौं । राजधानीको व्यस्त क्षेत्र दरबारमार्गमा दुर्लभ वन्यजन्तुजन्य वस्तुको अवैध कारोबार भइरहेको आशंकाबीच प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरूबाट गैंडाको खाग बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२४ निवासी ५० वर्षीय सञ्जयमान सिंह श्रेष्ठसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो। दरबारमार्गस्थित एक क्याफेमा उनीहरूको संलग्नता रहेको सूचनाका आधारमा छापा मार्दा खाग फेला परेको बताइएको छ।
मंगलबार दिउँसो प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले क्याफेभित्र खोजतलास गर्दा करिब १ किलो ७५ ग्राम तौलको गैंडाको खाग बरामद गरेको हो।
दुर्लभ वन्यजन्तुको अवैध कारोबार अन्तर्राष्ट्रिय अपराधसँग जोडिने भएकाले यस घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




