काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको एकता पुनः अपरिहार्य बन्दै गएको बताएका छन् । उनले वर्तमान राजनीतिक परिस्थितिले कम्युनिस्टहरूलाई नयाँ ढंगले एकताबद्ध हुन बाध्य बनाएको दाबी गरेका हुन् ।
२६ औँ निर्मल लामा स्मृति सभा लाई सम्बोधन गर्दै प्रचण्डले श्रमजीवी वर्ग र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यलाई पुनर्जीवित गर्दै नयाँ राजनीतिक यात्रामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार विगतका उपलब्धि र संघर्षले मात्रै वर्तमान चुनौती समाधान गर्न नसक्ने अवस्था आएको छ । “हिजो गरेका कामले आजको आवश्यकता पूरा हुँदैन,” भन्दै उनले विचार, संगठन र राजनीतिक दृष्टिकोण सबै क्षेत्रमा पुनर्संरचना आवश्यक रहेको बताए ।
प्रचण्डले विगतमा कम्युनिस्ट शक्तिहरूबीच एकताको प्रयास भए पनि त्यसलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन नसकिएको स्वीकार गरे । उनले जनतामा कम्युनिस्ट एकताको अपेक्षा अझै बलियो रहेको समेत उल्लेख गरे ।
उनका अनुसार एकताका प्रयासहरू कहिलेकाहीँ सफल भए पनि संगठनात्मक कमजोरीका कारण ती स्थायित्वमा जान सकेनन् । यसले आन्दोलनलाई पटक–पटक विभाजनतर्फ धकेलेको उनको भनाइ छ । सम्बोधनका क्रममा उनले देशमा बाह्य प्रभाव र हस्तक्षेप बढ्दै गएको भन्दै त्यसले राष्ट्रिय राजनीतिक वातावरणलाई जटिल बनाइरहेको टिप्पणी गरे । कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने प्रयास अझै जारी रहेको संकेत पनि उनले गरे ।
प्रचण्डले वर्तमान परिस्थितिले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा गर्दै नयाँ आधारमा पुनः एकताबद्ध हुन बाध्य बनाएको उल्लेख गर्दै अबको आवश्यकता संगठनात्मक रूपान्तरणसहितको सहकार्य रहेको बताए ।




