काठमाडौं । नेपाल शिक्षक महासंघले सोमबारदेखि पहिलो चरणका आन्दोलन सुरु गरेको छ । कार्यक्रममा प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले प्रतिनिधिसभामा भदौ ६ मा पेश भएको विद्यालय शिक्षा विधेयकले शिक्षकहरूको सेवा–सुविधा, स्थायित्व र अधिकार कमजोर बनाएको आरोप लगाएका छन् । गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भए पनि नयाँ विधेयकमा सहमति कार्यान्वयन नभएकोले महासंघ पुनः आन्दोलनमा होमिएको उनले बताए ।
महासंघले विगतका वर्षहरूमा (२०७५, २०७८, २०८० र २०८१र८२) सरकारसँग भएको सहमति लागू गर्न, अस्थायी शिक्षकका लागि ७५५ आन्तरिक र २५५ खुला पदपूर्ति, आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमति पत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान तथा शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको माग उठाएको छ । महासंघले आवश्यक माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने र सडकबाट सरकारलाई दबाब दिने जनाएक छन् ।







