देश

मापदण्ड नपुगेपछि करेन्ट नुडल्स र लाली चाउचाउ फिर्ता गर्न निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर परीक्षणमा कमजोरी भेटिएपछि केही खाद्य उत्पादन तत्काल बजारबाट हटाउन निर्देशन दिएको छ।

विभागका अनुसार यशोधा फुड्स प्रालि द्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट नुडल्स’ र ५० ग्रामको ‘लाली चाउचाउ’ मा आवश्यक गुणस्तर मापदण्ड पूरा नभेटिएपछि ती उत्पादन बजारबाट फिर्ता गर्न आदेश जारी गरिएको हो।

परीक्षणका क्रममा उक्त खाद्य सामग्रीमा सरकारले निर्धारण गरेको अनिवार्य मापदण्डअनुसार ‘एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु’ उपयुक्त नरहेको विभागले जनाएको छ। त्यसैगरी एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि ले उत्पादन गरेको ‘ज्याकन्याक क्रेकर्स बिस्कुट’ पनि गुणस्तर परीक्षणमा कमजोर देखिएपछि बजारबाट हटाउन निर्देशन दिइएको छ।

विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै गुणस्तरहीन खाद्य सामग्री उत्पादन तथा बिक्री वितरण नगर्न सम्बन्धित उद्योगहरूलाई चेतावनीसमेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *