देश

प्रधानमन्त्रीको कार्यशैलीप्रति एमाले आक्रामक, ‘जवाफ नदिए संसद् चल्न दिँदैनौं’

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउँदै उनलाई संसदीय जिम्मेवारीबारे “सबक सिकाउनुपर्ने अवस्था” आएको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले प्रधानमन्त्री शाहले लगातार संसद्लाई बेवास्ता गरिरहेको टिप्पणी गरिन् । उनले प्रधानमन्त्रीको अनुपस्थितिले संसद्को गरिमा कमजोर बनेको भन्दै विपक्षी दलहरू विरोधमा उत्रिन बाध्य भएको बताइन् ।

“प्रधानमन्त्रीले संसद्प्रतिको उत्तरदायित्वलाई गम्भीर रूपमा लिनुभएको देखिँदैन,” अर्यालले भनिन्, “उहाँलाई जिम्मेवारी के हो भन्ने कुरा सम्झाउनुपर्ने अवस्था आएको छ ।”उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने भए पनि अनुपस्थित रहेपछि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई अघि सारिएको बताइन् । तर अन्तिम जवाफ दिने समयमा प्रधानमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने उनको अडान थियो ।

अर्यालले प्रधानमन्त्री संसद्मा आएर सांसदका प्रश्नको जवाफ दिने सुनिश्चितता नभएसम्म विपक्षीले सहज रूपमा प्रक्रिया अघि बढ्न नदिने चेतावनीसमेत दिइन् । “यदि प्रधानमन्त्री आउनुहुन्न भने पनि उहाँले जवाफ दिन आउने ग्यारेन्टी हुनुपर्छ,” उनले भनिन्, “त्यो सुनिश्चितता बिना हामी टेबुल गर्न दिँदैनौं ।”

प्रधानमन्त्री शाहको संसद्मा लगातार अनुपस्थितिलाई लिएर पछिल्ला दिनमा प्रमुख प्रतिपक्षी दलहरू आक्रामक बनेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री सहभागी नहुनुले संसद्प्रतिको जवाफदेहितामाथि प्रश्न उठेको विपक्षीको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *