देश

रास्वपाकै सांसद रानाले भनिन् – ‘सरकार नभएको अनुभूति भयो’

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले तराई क्षेत्रमा बढ्दो हात्ती आतंक र जंगली जनावरको आक्रमण नियन्त्रणमा सरकार उदासीन बनेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै पूर्व उपसभामुखसमेत रहेकी रानामगरले जंगल आसपासका बस्तीमा बसोबास गर्ने नागरिकले राज्यको उपस्थिति नै महसुस गर्न नसकेको बताइन् । उनले “सरकार नभएको अनुभूति भइरहेको” भन्दै प्रभावित क्षेत्रका नागरिकको पीडा संसद्मा उठाएकी हुन् ।

उनका अनुसार झापालगायत तराईका विभिन्न जिल्लामा हात्तीको आक्रमणका घटना निरन्तर बढिरहेका छन् । तर समस्या नियन्त्रण र स्थानीय नागरिकको सुरक्षाका लागि सरकारले प्रभावकारी योजना अघि सार्न नसकेको उनको गुनासो थियो ।

रानामगरले वन क्षेत्रमा आवश्यक वनपाले तथा सुरक्षाकर्मीको अभाव हुँदा जंगली जनावर बस्तीमा पसेर स्थानीयमाथि आक्रमण गर्ने अवस्था बढ्दै गएको बताइन् । उनले मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न दीर्घकालीन नीति आवश्यक रहेको उल्लेख गरिन् ।

सांसद रानामगरले हालै झापाको अर्जुनधारा–२ मा जंगली हात्तीको आक्रमणबाट दिनेश पराजुली गम्भीर घाइते भएको घटना उल्लेख गर्दै पीडितको उपचार र राहत व्यवस्थामा सरकार गम्भीर बन्नुपर्ने मागसमेत गरिन् ।

सत्तारुढ दलकै सांसदले संसद्मा उभिएर सरकारको भूमिकामाथि प्रश्न उठाएपछि वन्यजन्तु व्यवस्थापन, जनसुरक्षा र राज्यको उपस्थितिबारे नयाँ बहस सुरु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *