ठिही चेपेर मुठ्ठीमा काखी गोजी छिराउँछु
डिही गोठ कतै खोंच तुषारो भै बिलाउँछु ।१।
किट्किटाएर काँप्ने क्वै रोमाञ्च रोममा छ क्वै
अँगेनो अग्निको राप मझेरी घाम खोज्छ क्वै ।२।
तुवाँलोभित्रको बस्ती घुर्मैलो धुम्म पार्छु म
डाली पात उगालेर अर्कै यौवन भर्छु म ।३।
डँडेल्नामा चढून् घाम ताप राप उचालिंदै
ठण्डी नङसिरी डाह कष्ट काटिरहून् सबै ।४।
प्राणी पंक्षी जऊन् काँही खोजून् गुँड बसून् कतै
माघ–फागुन पर्खेर जोडी प्रेम फिरून् यतै ।५।
रूपान्तरण खोज्दै म ऋतराग मिलाउँछु
मुटु छेड्ने चिसो फाली अर्कै मौसम ल्याउछु ।६।
म हेमन्त हिमालैको वारिपारि खुसाउने
न्यानो वस्त्र भुवादार राडीपाखी रुचाउने ।७।
हुन्न सम्पर्क विच्छेद फर्की तर्की म आउँछु
कैलास श्रेणी ओर्लेर तराईसम्म धाउँछु ।८।
* * *
मादी न.पा.– ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर




