देश

कर्णालीमा कांग्रेसको दुईदिने भेला आयोजना

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश केन्द्रित दुईदिने राजनीतिक तथा संगठनात्मक भेला आयोजना गर्ने भएको छ । सोमबार र मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा हुने भेलामा पार्टीका शीर्ष नेताको सहभागिता रहने जनाइएको छ ।

विशेष महाधिवेशनपछि पहिलोपटक हुन लागेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरू कर्णाली पुग्ने कार्यक्रम तय भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान को आयोजनामा हुने भेलामा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रदेशसभा सदस्य तथा मन्त्रीहरूको सहभागिता रहनेछ ।
पार्टीका अनुसार भेला आगामी राजनीतिक रणनीति, प्रतिनिधिसभा निर्वाचनको समीक्षा, संगठन सुदृढीकरण र सुशासनका विषयमा केन्द्रित हुनेछ । साथै, बदलिँदो जनमत, मतदाताको मनोविज्ञान र पार्टीभित्रको एकतालाई मजबुत बनाउने विषयमा पनि विशेष छलफल गरिने जनाइएको छ ।

प्रतिष्ठानका सदस्य प्रकाश लामिछाने ले भेलामा संगठनात्मक कमजोरी पहिचान, अनुशासन सुदृढीकरण तथा जनप्रतिनिधि र नेतृत्वबीच समन्वय बढाउने विषयमा गहन बहस हुने बताए ।

भेलामा कर्णालीको विकास, सुशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण तथा नागरिकमैत्री बजेट निर्माणका विषयमा समेत कार्ययोजना तय गरिने कांग्रेसको भनाइ छ । दुईदिने छलफलपछि ‘सुर्खेत घोषणापत्र’ जारी गर्दै कर्णाली विकासबारे पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *