काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरण तथा अद्यावधिक कार्य निर्धारित समयमै सम्पन्न गर्न मातहतका सबै तहलाई निर्देशन दिएको छ। पार्टीले आगामी जेठ २१ गतेभित्र सम्पूर्ण प्रक्रिया अनिवार्य रूपमा पूरा गर्न आग्रह गरेको हो।
ललितपुरस्थित बी।पी। स्मृति भवनमा बिहीबार बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको जनाएको छ। बैठक महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
पार्टीले सदस्यता व्यवस्थापन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने अभियानअन्तर्गत अब सदस्यहरूले आफ्नै मोबाइल प्रयोग गरेर अनलाइनमार्फत सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था लागू गरेको जनाएको छ। यसका लागि ‘स्वयं सदस्यता आवेदन फारम’ सदस्यता पोर्टलमा उपलब्ध गराइएको छ।
अनलाइन प्रक्रिया पूरा गर्न कठिनाइ भएमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरी एआई प्रणालीमार्फत सहयोग लिन सकिने कांग्रेसले जनाएको छ। साथै, केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रबाट पनि आवश्यक सहजीकरण गरिने बताइएको छ।
फोनमार्फत नै प्रश्नहरूको उत्तर दिएर सदस्यता फारम भर्ने सुविधा समेत उपलब्ध गराइएको समितिले जानकारी दिएको छ। विदेशमा रहेका नेपाली कांग्रेससँग सम्बद्ध जनसम्पर्क समितिका सदस्यहरूका लागि पनि अनलाइन आवेदन प्रणाली सञ्चालनमा ल्याइएको छ।
कांग्रेसले सदस्यता अद्यावधिक नगर्ने तथा एनसी आईडी नलिने सदस्यहरू १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट पारेको छ। त्यसैले तोकिएको समयभित्र सबै सदस्यलाई प्रक्रिया पूरा गराउन सम्बन्धित निकायलाई सक्रिय हुन निर्देशन दिइएको छ।




