देश

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

काठमाडौं । बेइजिङमा सम्पन्न उच्चस्तरीय भेटवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी वर्षहरूका लागि दुई देशबीचको सम्बन्धलाई थप स्थिर र सहकार्यमा आधारित बनाउने समझदारी भएको छ ।

चीनको विदेश मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, दुवै नेताले अमेरिका–चीन सम्बन्धलाई “रचनात्मक, रणनीतिक र स्थिर” ढंगले अघि बढाउने सहमति जनाएका छन् । यो समझदारी आगामी तीन वर्ष र त्यसपछिको अवधिलाई लक्षित गर्दै गरिएको बताइएको छ ।

हालसम्म अमेरिकी पक्षले भने उक्त वार्ताबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । तर चीनले प्रयोग गरेको नयाँ कूटनीतिक शब्दावलीलाई विश्व राजनीतिमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।

विश्लेषकहरूका अनुसार पछिल्ला वर्षहरूमा व्यापार, प्रविधि र सुरक्षा मामिलामा तनावपूर्ण बनेको अमेरिका–चीन सम्बन्धलाई अब प्रतिस्पर्धासँगै सहकार्यको सन्तुलित मोडेलतर्फ लैजाने प्रयास देखिएको छ ।

वार्तापछि सी जिनपिङले “रचनात्मक रणनीतिक स्थिरता” को अवधारणाबारे व्याख्या गर्दै सहकार्यमा आधारित स्थायित्व, व्यवस्थित प्रतिस्पर्धा, मतभेदको व्यवस्थापन र दीर्घकालीन शान्तिलाई प्राथमिकतामा राखिएको बताए । उनले दुई देशबीचको सम्बन्ध केवल घोषणामा सीमित नरही व्यवहारिक कार्ययोजनामार्फत अघि बढ्नुपर्नेमा जोड दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *