
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कारबाहीमा परेका पूर्व महामन्त्री मुकुल ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउन कोशीका सभापति राजेश तिम्सिना र मधेशका महामन्त्री तपेश्वर यादवले पहिलो कमद चालेका छन् । पार्टी स्थापना कालमा रास्वपालाई महत्वपूर्ण सहयोग गरेको भन्दै मुकुललाई पार्टीमा पुनः फर्काउन पहल गर्दै तिम्सिना र यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन् ।
कोशीका सभापति तिम्सिनाका अनुसार ढकाललाई निष्कासन गरिसकेपछि पार्टी धेरै कमजोर भएको
छ । उनले कार्यवाहक सभापति अर्याललाई लेखेको पत्रमा उल्लेख छ । तिम्सिनाले पूर्व महामन्त्री ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षर फिर्ता लिएको बताएका छन् ।
‘राइट टु रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु । यसर्थ, पार्टीमा डा। मुकुल ढकाललाई पुरानै जिम्मेवारी सहित फिर्ता बोलाउनुपर्छ भन्ने मत जाहेर गर्दछु,’ तिम्सिनाले पत्रमा लेखेका छन् । एकापसमा भिडेर भन्दा मिलेर पार्टी बनाउनुपर्ने आवश्यकता रहेकाले कारबाही फिर्ता पत्र पठाएको तिम्सिनाले बताएका छन् ।
ढकाललाई हटाउन गरेको हस्ताक्षर फिर्ता लिएको मधेशका महामन्त्री यादवले समेत पुष्टि गरेका छन् । रास्वपा हाल सबैभन्दा ठूलो संकटको घडीमा रहेको यादवले लेखेका छन् । ‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्योभन्दा ठूलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ । कसैसँग रिस, राग, द्वेष र अनुराग नराखिकन एक आपसका सबै तुष सबै पक्षबाट त्यागौं र संकटको यो घडी फुटेर होइन जुटेर सामना गरौं,’ यादवले लेखेको पत्रमा भनिएको छ ।
रास्वपा सभापति रवि लामिछानेले पार्टीको हितका लागि र जनताका हितका लागि कुरा गर्दा धेर बोलेको भन्दै संस्थापक महामन्त्री एवम् प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गत असारमा पार्टीबाट निकालिएको थियो । सहकारी ठगी , संगठित अपराध र सम्पती सुद्धिकरणमा लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र पेश भएपछि अहिले रास्वापाको नेतृत्व शक्ति कम्जोर बन्न पुगेको छ ।