काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्ने भएको छ । आज दिउसो ३ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो । ओली सरकार विरुद्ध आन्दोलनमा रहेको सो समूहले संघर्षका कार्यक्रमलाई देशव्यापी बनाउने र त्यसका लागि विभिन्न रणनीतिहरु अख्तियार गर्ने गरी बैठक बस्न लागिएको स्रोतले जनाएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ । पार्टीले घोषणा गरेको दोस्रो चरणका संघर्षका कार्यक्रमहरु जारी रहेकै बेला स्थायी समितिको बैठक बस्न लागेको हो ।
बैठकमा आन्दोलनका कार्यक्रमहरुका साथमा देशभर भइरहेका कार्यकर्ता भेला, प्रशिक्षण तथा सभा समारोह लगायतका कार्यक्रमको समीक्षा गर्नुका साथै कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । साथै आजकै बैठकबाट देशव्यापी रुपमा आन्दोलनलाई गति दिनेगरी आन्दोलनको कमाण्डर तोक्ने संभावना रहेको स्रोतको दावी छ ।




