राजनीति

छापामारीपछि मुख्यमन्त्री बानियाँको आपत्ति

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाएका छन्। सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा–५ स्थित उनको घर तथा बानियाँ निर्माण सेवासँग सम्बन्धित विभिन्न कार्यालयमा छापा मारेपछि उनले औपचारिक धारणा सार्वजनिक गरेका हुन्।

प्रेस विज्ञप्तिमार्फत बानियाँले आफूले मुख्यमन्त्री बनेदेखि सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको दाबी गरेका छन्। उनले प्रदेश सरकारमा खर्च कटौती र आर्थिक मितव्ययितालाई समेत निरन्तर अघि बढाएको उल्लेख गरे। छापामारीको विषयमा प्रतिक्रिया दिँदै उनले अनुसन्धानलाई सकारात्मक रूपमा लिएको बताए। तर, आफूले राज्यका निकायसँग सहयोग गर्न सदैव तयार रहेको अवस्थामा अकस्मात् गरिएको छापामारीले व्यक्तिगत तथा सामाजिक छविमा असर पुगेको महसुस भएको उनको भनाइ छ। ‘राज्यका निकायले गर्ने हरेक अनुसन्धानमा मेरो पूर्ण सहयोग रहनेछ,’ उनले भनेका छन्, ‘तर बिना पूर्व जानकारी गरिएको यस्तो कदमप्रति मेरो असहमति छ।’

मुख्यमन्त्री बानियाँले संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सुशासनका पक्षमा गरिने हरेक काममा आफ्नो समर्थन रहने स्पष्ट पारे। साथै, उनले छापामारीका कारण फैलिएका भ्रममा नपर्न प्रदेशवासी र शुभेच्छुकहरूलाई आग्रह गरेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले करिब दुई घण्टा खानतलासी गरेको बताइएको छ। यस घटनाले प्रदेश राजनीति र प्रशासनिक प्रक्रियामाथि थप बहस जन्माएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *