देश

भीष्मराज आङ्देम्बे दल नेता बनेपछि शीर्ष नेताहरूसँग भेटवार्ता तीव्र

काठमाडौँ ।नेपाली कांग्रेसको संसदीय दलको नेता बनेपछि भीष्मराज आङ्देम्बेले पार्टीभित्रका शीर्ष नेताहरूसँग भेटघाट तीव्र बनाएका छन्। हिजो सर्वसम्मत रूपमा दलको नेता निर्वाचित भएका उनले आज पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै भेट गरेका छन्।

भेटका क्रममा पूर्णबहादुर खड्काले आङ्देम्बेलाई बधाई दिँदै शुभकामना व्यक्त गरे। उनले भने, “मेरा मित्र तथा प्रिय भाइ भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेता सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकोमा हृदयदेखि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।”

खड्काले आङ्देम्बेले संवैधानिक परिषद्को सदस्यका रूपमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, उनले प्रतिनिधिसभाको वर्तमान संरचनामा नेपाली कांग्रेस दोस्रो ठूलो दल भएकाले प्रमुख प्रतिपक्ष दल नेताका रूपमा आङ्देम्बेको भूमिका ऐतिहासिक र महत्वपूर्ण रहने बताएका छन्।

त्यसैगरी, आङ्देम्बेले आजै नेता डा. शेखर कोइरालासँग पनि भेट गरेका छन्। उनलाई पार्टीभित्र समन्वयकारी नेताका रूपमा हेरिएको छ। दलको नेताका लागि आकांक्षी धेरै भए पनि आङ्देम्बे सर्वसम्मत रूपमा चयन भएका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *