काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा सहभागी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारस्थित कानुन समितिको हलमा सबै दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग सहभागी थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले कूटनीतिक राहदानीसम्बन्धी विषयमा सभामुखले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गरेको जानकारी दिइन् । सांसद ओलीले प्रतिनिधिसभाका विभिन्न सदस्यहरूबाट कूटनीतिक राहदानीको माग बढ्दै गएकाले त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिएको बताइन् ।
राहदानी ऐन २०७६ तथा नियमावलीअनुसार दफा ६ मा विशेष सरकारी कार्यक्रम वा विशेष कार्यमा जाने तोकिएका पदाधिकारीहरूले मात्र कूटनीतिक राहदानी पाउने व्यवस्था रहेको उनले उल्लेख गरिन् ।
धेरै सांसदहरूलाई विभिन्न कार्यक्रमका लागि विदेश भ्रमणमा जानुपर्ने अवस्था रहेको भन्दै हालको कानुनी व्यवस्थाअनुसार सहज रूपमा राहदानी उपलब्ध गराउन कठिनाइ भइरहेको उनको भनाइ छ ।
यस विषयमा आगामी दिनमा सांसदहरूलाई कसरी सहजीकरण गर्ने भन्नेबारे विभिन्न दलका सचेतक र प्रमुख सचेतकहरूबाट सुझाव संकलन गर्न सभामुखले छलफलका लागि बोलाएको उनले जानकारी दिइन् ।
उनले भनिन्, ‘तर धेरै माननीयज्यूहरुले विभिन्न कार्यक्रममा विदेश भ्रमणमा जानुपर्ने भएकाले अहिले ऐन र नियमावली अनुसार त्यो दिन नमिल्ने तर आगामी दिनमा माननीयहरुलाई सहजीकरण कसरी गर्ने भन्ने विषयमा राय सल्लाह बोलाइएको हो ।’




