देश

संसदीय समितिहरुको सभापतिको निर्वाचनः आज मनोनयन दर्ता

काठमाडौं। संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापति चयन प्रक्रिया आजबाट सुरु हुँदैछ। आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता गरिनेछ।

संघीय संसद् सचिवालयका अनुसार मनोनयनपत्र दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ। दर्ता सम्पन्न भएपछि दिउँसो साढे ४ बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गरिने कार्यक्रम छ।

प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत र दुई संयुक्त समितिको सभापति चयन हुन बाँकी छ। सभापतिको निर्वाचन भने भोलि शुक्रबारका लागि तय गरिएको छ। सो दिन अपराह्न १ बजे सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव पेश गर्ने, समर्थकले समर्थन गर्ने र त्यसपछि निर्णयार्थ प्रस्तुत गरिनेछ।

यसअघि चैत २७ गते बसेको प्रतिनिधिसभा बैठकले विषयगत समितिका सदस्यहरू टुंगो लगाएको थियो। सोही बैठकमा सभामुख डोलप्रसाद अर्यालले वैशाख ४ गतेलाई सभापति निर्वाचनको मिति निर्धारण गर्नुभएको थियो।

प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन र उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिहरू रहेका छन्।

संयुक्त समितिमा संसदीय सुनुवाइ तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *