काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले ओखलढुङ्गास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा स्वागत गर्न नआएको भन्दै हप्काएको विषयमा विद्यालयले स्पष्टीकरण दिएको छ ।
सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक भएपछि सांसद पोखरेलले गल्ती स्वीकार गर्दै माफी मागिसकेका छन् । यसैबीच विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बुढाथोकीले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाबारे स्पष्ट पारेका छन् ।
विज्ञप्तिअनुसार सांसद पोखरेल विद्यालयको समस्या तथा शैक्षिक गतिविधिबारे जानकारी लिन पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यालय पुगेका थिए । त्यतिबेला प्रधानाध्यापक मगर विद्यालयका समस्या तथा आवश्यक मागपत्र तयार गर्ने कार्यमा व्यस्त रहेका कारण गेटमा स्वागत गर्न नपुगेको बताइएको छ ।
मागपत्र तयार गर्ने क्रममा व्यस्त भएकै कारण बाहिर आउन ढिलाइ हुँदा सांसद पोखरेल पहिले नै विद्यालय परिसरबाट हिँडिसकेको जानकारी दिइएको विज्ञप्तिमा उल्लेख छ ।





