काठमाडौं । शैक्षिक क्षेत्रलाई ‘राजनीतिक दलमुक्त’ बनाउने बहसबारे नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले विश्वविद्यालयहरू अनुसन्धान र ज्ञानका केन्द्र भएकाले त्यहाँका संस्थाहरूलाई निषेध गर्ने वा समाप्त गर्ने प्रयास बुद्धिमानी नहुने बताएका छन् ।
उनले विद्यार्थी र प्राध्यापक आबद्ध संस्थाहरूलाई शैक्षिक उन्नयन, अनुसन्धान, नवप्रवर्तन र व्यक्तित्व विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै संस्था नै खारेज गर्ने सोचले समस्या समाधान नहुने तर्क गरे ।
चालिसेले संघ–संस्था खोल्ने स्वतन्त्रताअन्तर्गत विद्यार्थी संगठनहरू स्थापित भएको उल्लेख गर्दै नेपाल विद्यार्थी संघले सर्वोच्च अदालतमार्फत आफ्नो अस्तित्व जोगाएको ऐतिहासिक सन्दर्भ पनि स्मरण गराए ।
उनले विश्वविद्यालयभित्र देखिएका विकृति सुधारका लागि आचरण र अभ्यासमा परिवर्तन आवश्यक रहेको बताउँदै संस्था हटाएर अर्को संरचना ल्याउँदा समस्या समाधान नहुने धारणा व्यक्त गरे ।
प्रवक्ता चालिसेले संवाद, सहकार्य र वार्तामार्फतै शैक्षिक क्षेत्रका समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै बल प्रयोग अन्तिम विकल्प मात्र हुनुपर्ने बताए ।




