अर्थ

१०० अर्ब डलर अर्थतन्त्र लक्ष्य : निजी क्षेत्रबिना सम्भव छैन — अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि विशेष रणनीति अघि बढाउने निर्णय गरिसकेको जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद्ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव पारित गर्दै निजी क्षेत्रमैत्री नीति निर्माणतर्फ महत्वपूर्ण कदम चालेको छ । उनले भने, “हामीले झन्डै १०० अर्ब डलरको अर्थतन्त्रको परिकल्पना गरेका छौँ। यो लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ बिना सम्भव छैन। निर्वाचनको समयमा होस् वा सरकारमा आएपछि, हाम्रो प्राथमिकतामा निजी क्षेत्र सधैं अग्रस्थानमा छ।”

वाग्लेले उक्त लक्ष्य हासिल गर्न करिब सात वर्ष लाग्न सक्ने उल्लेख गर्दै आर्थिक विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धि सबै क्षेत्रमा निजी क्षेत्रको भूमिका निर्णायक हुने बताए ।

उनले रोजगारी सिर्जना, उत्पादन वृद्धि र निर्यात विस्तारमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए ।

“रोजगारी सिर्जना, उत्पादन वृद्धि र निर्यात विस्तारमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ,” उनले भने ।

अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण निर्माण, सहज नीतिगत प्रक्रिया र स्थायित्व सुनिश्चित गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको प्रतिबद्धता दोहोर्‍याए । सरकारले ल्याउन लागेको “निजी क्षेत्रको संरक्षण र प्रवर्द्धन रणनीति” मार्फत उद्योग, व्यापार र लगानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *