काठमाडौं । नेकपा (एमाले)ले भीम रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेपछि पार्टीको निर्णय सकरात्मक नभएको भन्दै आक्रोस व्यक्त गरेका छन् । बुधबार बसेको एमाले सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेपछि रावलले एमालेको निर्णयप्रति आक्रोस व्यक्त गर्दै कारबाही निरंकुश, स्वेच्छाचारी र तानाशाही मनस्थितिको उपज भएको प्रतिक्रिया दिएका छन् । नेकपा एमालेले नेतृत्वको निर्णयप्रति प्रश्न उठाउनेहरूमाथि एकपछि अर्को गरी कारबाही गरेपछि एमालेको निर्णयप्रति चौतर्फी आलोचना भएको छ । एमालेले उनीहरुलाई पुनः छलफलमा नबोलाई हतारमा आत्माघाती निर्णय गर्नु गलत भएको एमालेका नेता तथा कार्यकर्ताको भनाइ छ । अहिले एमालेको निर्णयप्रति एमाले नेता तथा कार्यकर्ताहरुले विभिन्न सामाजिक संजालमार्फत पार्टीको निर्णयलाई लिएर आलोचना गरिरहेका छन् ।
नेतृत्वको कार्यशैलीको आलोचना गरेकै कारण पूर्वउपाध्यक्ष भीम रावलको संगठित सदस्यता खोसेको एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीविहीन बनाएको छ ।
एमालेका पूर्वउपाध्यक्ष रावलसहित उनीहरुलाई कात्तिक ६ गते स्पष्टीकरण सोधेको थियो । एमालेलाई व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषय र विभिन्न समयमा पार्टीविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको थियो । सोही विषयलाई लिएर सचिवालय बैठकले पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीबाट हटाएको हो । अभिव्यक्ति पार्टीलाई बलियो बनाउनेभन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएकाले उनीहरुलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् । रावल १०औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बनेका थिए । अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्य अस्वीकार गरे । त्यसपछि पार्टीले सल्लाहकार परिषद्मा जिम्मेवारी दिए पनि बस्न अस्वीकार गरेका थिए
यस्तै नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा. विन्दा पाण्डेले आफूले नगरेको गल्तीको सजाय दिने काम भएको बताएकी छन् । व्यापारीबाट दानमा केन्द्रीय कार्यालय लिने निर्णयलाई गलत भन्ने आफ्नो अभिव्यक्ति सच्याउन आवश्यक नरहेको उनको तर्क छ ।
‘नागरिकको बीचमा ठाडो शीर गरेर ‘म नेकपा एमालेको सदस्यले मेरो पार्टी कार्यालय मै बनाउँछु’ भन्ने निर्णय पार्टीले गरेको थियो । त्यही आधारले अगाडि बढ्नुपर्छ भनेर कुरा उठाएको हो’, पाण्डेले भनिन्, ‘त्यसले गर्दा गल्ती गरेका थिएनौं त, रियलाइजेसन गर्ने कुरै भएन नि ।’




