देश

लिपुलेक–कालापानीमा नेपालको अडान कायम, सीमा विवाद वार्ताबाट समाधान गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं । परराष्ट्र मन्त्रालयले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको विषयमा सरकार स्पष्ट र दृढ रहेको जनाएको छ । १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका क्षेत्र नेपालकै भूभाग भएको ऐतिहासिक तथ्यमा कुनै सम्झौता नहुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारत र चीनबीच लिपुलेक नाका प्रयोग गरी सञ्चालन गर्न लागिएको कैलाश मानसरोवर यात्राबारे नेपालले दुवै देशसमक्ष कूटनीतिक माध्यमबाट आफ्नो गम्भीर चासो राखिसकेको जानकारी दिए । सीमा समस्याको समाधान ऐतिहासिक प्रमाण, नक्सा र संवादका आधारमा गर्न नेपाल प्रतिबद्ध रहेको उनले बताए ।

यसैबीच, दक्षिणपूर्वी एसियाका विभिन्न देशमा अनलाइन स्क्यामिङमा फसेका ६ सयभन्दा बढी नेपाली नागरिकको उद्धार गरिएको पनि मन्त्रालयले जनाएको छ । थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसबाट गरी ६ सय १६ जना नेपालीलाई स्वदेश फर्काइएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो तीन वर्षमा ठूलो संख्यामा नेपाली कम्बोडिया पुगेकाले थप नागरिक ठगी सञ्जालमा फसेको आशंका गरिएको छ । हाल म्यानमारमा हिरासतमा रहेका नेपालीहरूको रिहाइका लागि पनि पहल भइरहेको बताइएको छ ।

मन्त्रालयले राहदानी सेवा थप सहज बनाइएको दाबी गर्दै आवेदन दिएको भोलिपल्टै राहदानी उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ । अत्यावश्यक अवस्थामा सोही दिन राहदानी जारी गर्न सकिने र विदेशमा रहेका नेपालीका लागि ‘कन्सुलर सहायता कक्ष’ समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *