काठमाडौं । पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
सम्झौता अनुसार किराँतीलाई पार्टीको दोस्रो वरीयतामा रहने गरी उपाध्यक्षको जिम्मेवारी दिइने भएको छ । साथै, उनको समूहले एक वरिष्ठ नेताको पद, एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने सहमति भएको छ ।
किराँतीसँग जोडिएको समूहका अधिकांश नेता पहिले प्रलोपामा सक्रिय रहेको बताइएको छ । जेनजी आन्दोलनपछि राजनीतिक पुनर्संरचनाको क्रममा भएको पार्टी एकतापछि असन्तुष्टि जनाउँदै उनी अलग समूहमा सक्रिय भएका थिए । श्रम संस्कृति पार्टीले नयाँ नेतृत्व संरचना विस्तार गर्दै संगठन मजबुत बनाउने रणनीति अघि सारेको जनाएको छ ।




