काठमाडौं । प्रतिनिधि सभाको लेखा समिति संयोजक ऋषिकेश पोख्रेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङको कर्सीयामा रहेको उमागौरी सहकारीको रकम दुरुपयोग गरेको अभियोगमा उनीमाथि जिल्ला अदालत मोरङले पक्राउ पूर्जी जारी गरेको हो ।
जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने अदालती पक्राउ पुर्जी जारी गरेको छ । उक्त सहकारीमा जम्मा भएको २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको अभियाग पत्रमा उल्लेख छ । उनीहरूलाई बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी समेत गरिएको छ ।
मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले मोरङको धनपालथान गाउँपालिका– ३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा कोइरालासहित २५ जना विरुद्ध पक्राउ पुर्जी जारी गर्ने आदेश भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
सूचना अधिकारी बुढाथोकीका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेपछि इलाका प्रहरी कार्यालय रङ्गेलीलाई समेत पत्र पठाएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मङ्सिर २७ गते सङ्घीय संसद्को सार्वजनिक लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको थियो ।
मङ्सिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । राजवंशी धनपालथान गाउँपालिका –४ का पूर्व वडाध्यक्ष समेत थिए । गत २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए । अन्य प्रतिवादी फरार छन् ।
फरार प्रतिवादीको सूचीमा सहकारीको पूर्व उपाध्यक्ष रङ्गेली नगरपालिका – २ का वडाध्यक्ष ४३ वर्षीय संतलाल खवास समेत छन् । २०७९ सालको निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । प्रहरीले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।
उमागौरी सहकारीको पूर्व सञ्चालक रहेकी सांसद पत्नी कोइरालाले सहकारी सङ्कटमा परेपछि ५ माघ २०७८ देखि राजीनामा दिएकी थिइन् । सञ्चालक हुँदा लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा कोइराला कालोसूचीमा छन् ।
करिब डेढ वर्षदेखी सहकारीको कार्यालय बन्द छ । उजुरीका लागि सार्वजनिक आह्वान गरेपछि २० जना ऋणीले आफूहरू ठगिएको भन्दै प्रहरीमा निवेदन समेत दिएका छन् ।
महिला उद्यमशील कर्जाका नाममा सदस्यको कागजात सङ्कलन गरी सहकारीले नविल बैङ्कबाट ऋण निकालेर सहकारीले थोरै मात्रै सदस्यलाई दिने गरेको थियो । सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ ।



