काठमाडौं । खोटाङका माओवादी सांसद रामकुमार राई आत्महत्या दुरुत्साहको कसुरमा हिरासतमा रहेका आरोपी छुटाउन व्यापक चलखेलमा लगेका छन् । त्यसका लागि उनले प्रहरी प्रशासनदेखि पीडित पक्षलाई प्रभाव पार्ने गरी गतिविधि सक्रिय बनाएका छन् । खोटाङको दिप्रूङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी धिप्लुङका २१ वर्षीय सुमन खड्काले स्थानीय देवान राईको कुटपिट र गाली बेइज्जती सहन नसकेर गत मंसिर ९ गते आत्महत्या गरेका थिए ।
खड्काले लेखेको सुसाइड नोटमा समेत उनले राईकै कारण आफूले यस्तो निर्णय गर्न बाध्य भएको उल्लेख गरेका थिए । पीडित परिवारले मंसिर १७ गते राईविरुद्ध प्रहरी कार्यालयमा किटानी जाहेरी गरेको थियो । सोहीअनुसार प्रहरीले राईलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्दैछ ।
माओवादी कार्यकर्तासमेत रहेका देवान राईले धिप्लुङ स्कुल परिसरमा किराना तथा मदिरा पसल सञ्चालन गर्दै आएका छन् तर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्नुअघि नै माओवादी सांसद राईले घटनाका वादी र प्रतिवादी दुवै पक्षलाई प्रभावमा पार्न चलखेललाई तीव्रता दिएका छन् । कतिसम्म भने उनले पीडित परिवारलाई फोन गरेरै मुद्दा कमजोर बनाउन अप्रत्यक्ष धम्की दिन थालेको प्रमाण संकल्पखबरले प्राप्त गरेको छ । सांसद राईले पीडित परिवारका सदस्यलाई फोन गर्दै देवान राईविरुद्ध उजुरी दिनु गलत भएको बताएका छन् । उनले भनेका छन्– ‘परिबन्धमा पर्नुभयो, हामीले हल्का खुकुलो बनाइदिनु अफ्ठ्यारोमा परेको छ भनेका छौँ ।’
घटनाको निष्पक्ष अनुसन्धान गरी आत्महत्या दुरुत्साहन कसुरका आरोपीलाई कारबाही गर्न प्रहरीलाई सल्लाह दिन र पीडित परिवारलाई न्याय दिलाउन लाग्नुपर्नेमा दोषीलाई नै उन्मुक्ति दिन जिल्ला प्रहरी कार्यालयमा सांसद राईले बारम्बार फोन गर्नुले खोटाङे जनतालाई कस्ता जनप्रतिनिधि जिताएर पठाएछौं भन्दै धिक्कार्न थालेका छन् ।
इलाका प्रहरी कार्यालय खोटाङ बजारका इन्स्पेक्टर मोहन बोहराका अनुसार हिरासतमा रहेका राईले खड्कामाथि कुटपिट गरेको विषय समेत स्वीकार गरिसकेका छन् ।राईले उक्त विषय स्वीकार गरेको विषय घटना स्थलमा उपस्थित प्रत्यक्षदर्शीहरुले समेत सुनेका छन् । ‘देवान राईले लगाएको चोरको आरोप र गाली बेइज्जती सहन नसकी आत्महत्या गर्न बाध्य भएको, यदि देवान राईले ममाथि झुट्ठो आरोप नलगाई मेरो कुरा बुझिदिएको भए मैँले आत्महत्या गर्नुपर्ने अवस्था आउँदैन थियो,’ मृतक सुमन खड्काले लेखेको सुुसाइड नोटमा उल्लेख छ ।
‘सुमन खडकालाई आत्महत्या गर्न बाध्य गराई आत्महत्या गर्न दुरुत्साहन गरी अपराध गरेको हुँदा उनलाई आवश्यक अनुसन्धान कारबाही गरी मुलुकी फौजदारी संहिता २०७४ को दफा १८५को उपदफा १ र २ तथा ऐ. को दफा १८६ बमोजिम हदैसम्मको कैद सजाय गरी क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ,’ भनी पीडित परिवारले जिल्ला प्रहरी कार्यालय खोटाङनमा किटानी जाहेरी दिएका छन् ।
https://www.loksambad.com/news/27287



