काठमाडौँ। काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको कमलपोखरी पुरेर निर्माण गरिएको छायाँदेवी कम्प्लेक्स भत्काउन सम्पदा संरक्षण नेपालका अभियानकर्मीले माग गरेका छन् ।
अभियानकर्मी आज माइतीघर मण्डलामा प्ले–कार्ड प्रदर्शनमा बसेका थिए । उनीहरुले विगतका सरकारका पालामा ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका सम्पदा मासेर निजी भवन बनाउँदा वास्ता नगरेको गुनासो गरे । त्यसबेला गरिएको उजुरीको सुनुवाइ नगरी बेवास्ता गरेकाले वर्तमान सरकारले सार्वजनिक जग्गा खाली गराइरहँदा यस विषयमा जागरण फैलाउन प्रदर्शन गरिएको उनीहरुको भनाइ छ ।
सम्पदा संरक्षण नेपालका सभापति कवीर डङ्गोलले ठमेलको कमलपोखरी पुरानै स्वरुपमा पुनःस्थापित नभएसम्म अभियान जारी रहने बताए ।
‘सम्पदा जोगाऔँ, सार्वजनिक पोखरी बचाऔँ’ भन्ने नाराका साथ अभियानकर्मीले ठमेलको कमलपोखरी सार्वजनिक स्थल भएकाले त्यसको अतिक्रमण गरी बनाइएको संरचना कानुनविपरीत भएको बताएका छन् ।




