विश्व

मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान

मध्यपूर्वमा बढ्दो तनावबीच चीनले तत्काल र पूर्ण रूपमा लडाइँ अन्त्य गर्न आह्वान गर्दै सबै पक्षलाई शान्ति वार्तामा फर्कन आग्रह गरेको छ । चीनले विशेषगरी संयुक्त राज्य अमेरिका र इरानबीचको विवाद समाधान गर्दै रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएको छ ।

बेइजिङमा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भएको वार्तापछि चिनियाँ विदेशमन्त्री वाङ यीले जारी गरेको वक्तव्यमा मध्यपूर्वमा जारी शत्रुता अब ढिलाइ नगरी अन्त्य गर्नुपर्ने स्पष्ट सन्देश दिइएको छ ।

वाङ यीका अनुसार चीनले लडाइँको ‘पूर्ण समाप्ति’ तत्काल हुनुपर्ने ठान्छ र शत्रुता पुनः सुरु हुनु अस्वीकार्य छ । उहाँले वार्ता निरन्तर जारी राख्नुपर्ने आवश्यकता औँल्याउँदै सबै पक्षलाई कूटनीतिक समाधानतर्फ फर्कन आग्रह गर्नुभयो ।

उहाँले विशेष रूपमा स्ट्रेट अफ हर्मुज मार्फत समुद्री यातायात सुरक्षित रूपमा पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिँदै अन्तर्राष्ट्रिय समुदायको तत्काल आह्वानप्रति सम्बन्धित पक्षहरूले छिटो प्रतिक्रिया दिनुपर्ने बताउनुभयो ।

आणविक मुद्दाबारे टिप्पणी गर्दै चिनियाँ विदेशमन्त्रीले इरानलाई शान्तिपूर्ण आणविक ऊर्जा प्रयोग गर्ने अधिकार रहेको स्वीकार गर्नुपर्ने बताउनुभयो । साथै, इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएकोमा चीनले स्वागत गरेको उहाँको भनाइ छ ।

चीनले मध्यपूर्वमा देखिएको तनावप्रति प्रत्यक्ष आर्थिक र रणनीतिक चासो राख्छ । समुद्री विश्लेषण संस्था केप्लरका अनुसार चीनले समुद्री मार्गबाट आयात गर्ने कच्चा तेलमध्ये आधाभन्दा बढी मध्यपूर्वबाट आउँछ, जुन अधिकांश रूपमा हर्मुज जलमार्ग हुँदै पार गरिन्छ । त्यसैले उक्त मार्ग अवरुद्ध हुँदा चीनको ऊर्जा आपूर्ति प्रणालीमा प्रत्यक्ष असर पर्ने जोखिम रहन्छ ।

बेइजिङले पछिल्ला कूटनीतिक प्रयासमार्फत सङ्कट समाधानमा मौन तर सक्रिय भूमिका खेल्दै आएको बताइएको छ । वाङ यीका अनुसार चीनले वासिङ्टन र तेहरानबीच बनेको नाजुक युद्धविरामलाई समर्थन गर्दै आएको र त्यसमा आफ्ना कूटनीतिक पहलहरूले पनि योगदान दिएको छ ।

उहाँले चीन आगामी दिनमा पनि तनाव घटाउन, लडाइँ अन्त्य गर्न र शान्ति वार्ता अघि बढाउन सक्रिय भूमिका खेल्ने बताउँदै मध्यपूर्वमा स्थायित्व पुनःस्थापना गर्न सबै पक्षसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *