देश

विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ रुपन्देहीस्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताएका हुन् ।

उनले अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै त्यस्ता विद्यार्थीलाई आत्मनिर्भर र उद्यमशील बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।

मुख्यमन्त्री आचार्यले राज्यले फरक क्षमता भएका नागरिकका लागि अवसर सृजना गरिरहेको बताए । त्यस्ता विद्यार्थीहरूको पठनपाठन र सीप विकासका विषयमा नजिकबाट बुझ्न पाउँदा खुसी लागेको उनको भनाइ थियो ।

वि.सं २०३२ देखि सुनाइसम्बन्धी समस्या भएका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको सो विद्यालयले विशेष शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

विद्यालयले नेपालसँगै छिमेकी मुलुक भारतका विद्यार्थीलाई समेत समेट्दै समावेशी शिक्षा प्रदान गर्दै आएको छ ।

आवासीय सुविधा, पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मको अध्ययन तथा सीपमूलक तालिममार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने प्रयास गरेको विद्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *