काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिस प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि अघि सारेपछि उक्त निर्णयको संवैधानिक वैधतामाथि प्रश्न उठाइएको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता क्रमलाई बेवास्ता गर्दै गरिएको सिफारिस न्यायपालिकाको स्थापित मान्यता र संविधानको मूल भावना विपरीत रहेको जिकिर गरेका छन् । उनका अनुसार यस्तो कदमले न्यायिक स्वतन्त्रतामाथि प्रत्यक्ष असर पार्ने खतरा देखिएको छ ।
रिटमार्फत उनले संवैधानिक परिषद्को निर्णय बदर गर्न तथा पहिलो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्न परमादेश जारी गर्न माग गरेका छन् । साथै, न्यायपालिकालाई कार्यपालिकाको प्रभावभित्र ल्याउने प्रयास भएको आरोपसमेत रिटमा उल्लेख गरिएको छ ।




