काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधुप नगर्न आग्रह गरेका छन् । आइतबार च्यासलमा स्थानीय तहमा पार्टीका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशालामा उनले पार्टीमा आउनुपर्यो भन्दै भण्डारीलाई नभेट्न नेता–कार्यकर्तालाई चेतानी समेत दिए ।
“पूर्वराष्ट्रपतिकहाँ गएर (पार्टीमा) आइदिनुपर्यो भन्ने कुराको कुनै तुक छैन,” ओलीको भनाइ उद्धृत गर्दै एक नेताले बाह्रखरीसित भने, “उहाँ (विद्या भण्डारी) सर्वोच्च भइसकेको व्यक्ति हो, आवश्यकता पर्दा हाम्रै सल्लाहमा आउनुहुन्छ ।” पूर्वराष्ट्रपति भण्डारीमा एमाले अध्यक्ष बन्ने चाहना रहेको नेताहरूले बताउँदै आएका छन् तर उनले औपचारिक बताउँछन् । तर, उनले औपचारिक रूपमा मुख खोलेकी छैनन् ।
एमालेको ११औँ महाधिवेशनमा भण्डारीलाई देखिने चर्चा एमालेवृत्तमा छ । उनलाई पार्टीमा क्रियाशील बनाउन नेताहरू सक्रिय छन् । राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरेपछि भण्डारी चपलीमा आफ्नै घरमा बस्दै आएकी छन् । सरकारी सुविधा नलिएकाले उनी राजनीतिमा आउन सक्ने आकलन गरिँदै आएको छ ।
.कार्यशालामा ओलीले पार्टीमा गुट नरहेको जिकिर गरे । उनले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका नाममा गुटको राजनीति नगर्न समेत चेतावनी दिए ।




